FAQs Complain Problems

संक्षिप्त परिचय

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ३ नं प्रदेश अन्तर्गत पर्ने सिन्धुली जिल्लाका साविक डुडभन्ज्याङ, वितीजोर, भुवनेश्वरी, तीनकन्या, रतनचुरा, बाशेश्वर र भिमेश्वर गरी ७ वटा गाउँ विकास समितिहरूलाईएकीकृत गरी ७ वटा वडा कायम गर्ने गरी नेपाल सरकारको मिति २०७३÷११÷२७ गतेको निर्णयले देशभरिका अन्य स्थानीय तह जस्तै यस गोलन्जोर गाउँ पालिकालाई स्थानीय तहको रूपमा लागू गरिएको हो । सिन्धुली जिल्लाका साविक गाउँ विकास समितिहरू वाशेश्वर, रतनचुरा र तीनकन्याको बीच भागमा पर्ने गोलन्जोर डाँडाको नामबाट यस गाउँपालिकाको नाम गोलन्जोर रहन गएको हो । गोलन्जोर डाँडा ऐतिहासिक र रमणीय भएकोले यस स्थानलाई पर्यटकीय स्थलको रूपमा विकास गरी जनताको आय आर्जन र जीवीकोपार्जनमा मदत पुर्याउने पवित्र उद्देश्यले भ्यु टावर निर्माण गर्ने कार्यक्रम राखिएको छ । ।राष्ट्रिय जनगणना, २०६८ अनुसार यस गाउँपालिकाको जम्मा परिवार संख्या ३६८१ तथा कुल जनसंख्या १९३२९ रहेको थियो भने घरधुरी सर्वैक्षण २०७५ अनुसार परिवार संख्या ३८११ र जनसंख्या २१३१९ रहेको छ । यसरी हेर्नेहो भने २०६८ सालको तुलनामा  २०७५ सालमा  १३० घर र १९९० जनसंख्याबृद्धि भएको देखिएको छ । यस गाउँपालिकाको सिमानामा पूर्वमा फिक्कल गाउँपालिका र रामेछाप जिल्ला, पश्चिममा कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिका, उत्तरमा रामेछाप जिल्ला र दक्षिणमा कमलामाई नगरपालिका र तीनपाटन गाउँपालिका रहेका छन्। हाल यस गाउँपालिकाको केन्द्र हालको वडा नं. ३ ग्वालटारमा रहेको छ । यस गाउँपालिका भित्र विकासका संभाव्य क्षेत्रहरू मुख्यतया कृषि, जलस्रोत, पर्यटन, जडीबुटी लगायतका प्राकृतिक स्रोत साधन आदि रहेका छन्। यस गाउँपालिका भित्र क्षेत्री, ब्राम्हण, मगर, नेवार, कामी, दमाई, सार्की, भुजेल, माझी, तामाङ, सुनुवार, राई आदि जाति जनजातिको बसोबास रहेको छ । नेपालको संविधान २०७२ ले प्रत्येक स्थानीय तहमा कार्यकारिणी, व्यवस्थापकीय र न्यायिक अधिकारको प्रष्ट व्यवस्था गरी प्रत्येक स्थानीय तहलाई संवैधानिक रुपमा स्थानीय सरकारको रुपमा स्वीकारेको छ । संविधानको भाग १७ मा स्थानीय कार्यपालिका सम्बन्धी व्यवस्था रहेको र उक्त भागमा स्थानीय तहको कार्यकारिणी अधिकार यो संविधान र संघीय कानुनको अधीनमा रही गाउँ कार्यपालिका वा नगर कार्यपालिकामा निहीत रहने र त्याहाँको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा पनि सोही स्थानीय तहको हुने र त्याहाँको कार्यकारिणी कार्य पनि सोही स्थानीय तहको कार्यपालिकाको नामबाट हुनेछ भन्ने व्यवस्था रहेको छ । त्यसैगरी गाउँ कार्यपालिकामा अध्यक्ष र उपाध्यक्षको निर्वाचन सम्बन्धित गाउँपालिकाका क्षेत्रभित्रका मतदाताले एक व्यक्ति एक मतको आधारमा गोप्य मतदानद्वारा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम गर्ने र कार्यपालिकामा अध्यक्ष, उपाध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित वडाध्यक्ष र गाउँसभाका सदस्यहरुले आफूमध्येबाट निर्वाचित गरेका ४ जना महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट गाउँसभाले निर्वाचित गरेका २ जना सदस्य रहने व्यवस्था रहेको छ । संवधानको धारा २१७ मा गाउँपालिका र नगरपालिकाको उपप्रमुखको अध्यक्षतामा कानुन बमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न ३ सदस्यीय एक न्यायिक समितिको व्यवस्था रहेको छ । संविधानको भाग १८ मा स्थानीय तहको व्यवस्थापकीय अधिकार यस संविधानको अधीनमा रही गाउँ सभा र नगर सभामा निहित रहने भन्ने व्यवस्था रहेको छ र यस किसिमको व्यवस्थापिकीय अधिकार अनुसूची(८ र अनुसूची(९ बमोजिमको सूचीमा उल्लेख भए बमोजिम हुनेछ भन्ने व्यवस्था रहेको छ । गाउँसभामा गाउँ कार्यपालिकाका अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित ४ जना सदस्य र दलित वा अल्पसंख्यकबाट निर्वाचित गाउँ कार्यपालिकाका सदस्य रहने प्रावधान रहेको छ । संविधानको धारा २१८ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाको कार्य संचालन उक्त स्थानीय तहबाट स्वीकृत नियमावली बमोजिम कार्यपालिकाको कार्य विभाजन र कार्य सम्पादन हुने व्यवस्था रहेको छ । संविधानको अनुसूची(८ मा स्थानीय तहको अधिकारको सूचीमा नगर प्रहरी,सहकारी संस्था, एफ एम संचालन, स्थानीय कर(सम्पत्ति, घर बहाल, घर जग्गा रजिष्ट्रेसन शुल्क, सवारी साधन, सेवा शुल्क, दस्तुर पर्यटन, विज्ञापन, व्यवसाय, भूमि, दण्ड, जरिवाना, मनोरञ्जन, मालपोत संकलन), स्थानीय सेवाको व्यवस्थापन, स्थानीय तथ्यांक र अभिलेख संकलन, स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरु, आधारभूत र माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य र सरसफाइ, स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता, स्थानीय सडक, गाउँ सभा, स्थानीय अदालत मेलमिलाप र मध्यस्थताको व्यवस्थापन, स्थानीय अभिलेख व्यवस्थापन, घर जग्गा धनी पूर्जा वितरण, कृषि तथा पशुपालन, ज्येष्ठ नागरिक अपाङ्ग र अशक्तहरुको व्यवस्थापन, बेरोजगारको तथ्यांक संकलन, कृषि प्रसार, खानेपानी साना जलविद्युत वैकल्पिक उर्जा, विपद् व्यवस्थापन, जलाधार वन्यजन्तु खानी खनिज पदार्थको संरक्षण, भाषा संस्कृति र ललितकलाको संरक्षण र विकास रहेकाछन् ।अनुसूची(९ मा संघ प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीको व्यवस्था गरिएको छ । जसमा सहकारी, शिक्षा खेलकुद र पत्रपत्रिका, स्वास्थ्य, कृषि, विद्युत खानेपानी सिंचाइ, सेवा शुल्क,दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी, पर्यटन शुल्क, वन, वन्यजन्तु, जल, वातावरण, पर्यावरण, जैविक विविधता, खानी तथा खनिज, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा र गरीबी निवारण, व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याङ्क, पुरातत्व, प्राचीन स्मारक र संग्रहालय, सुकुम्बासी व्यवस्थापन, सवारी साधन अनुमति रहेका छन् । धारा २३२ मा संघ प्रदेश र स्थानीय तह बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुनेछ भन्ने प्रावधान रहेको छ । यही संवैधानिक प्रावधान बमोजिम यस गाउँपालिका पनि क्रियाशील रहेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ लगायत संघबाट पारित भई लागू गरिएका कानुनहरु, ३ नं प्रदेशबाट लागू गरिएका कानुनहरु र गाउँपालिकाबाट निर्माण गरिएका कार्यविभाजन नियमावली २०७४ र कार्यसम्पादन नियमावली २०७४ लगायत कानुनी व्यवस्था बमोजिम यस गाउँपालिकाले कार्य सम्पादन गर्दै आएको छ ।
यो गाँउपालिकाको मुख्य बजार क्षेत्र खनियाखर्क र खुर्कोटहुँदै विपि राजमार्ग गएको छ जसले गर्दा उक्त राजमार्गको छेउछाउमा होटल र व्यापार फस्टाएको छ भने वडा नंं ४ बाहेक अन्य सम्पुर्ण वार्डमा मध्य पहाडि राजमार्गले छोएको छ । मध्य पहाडि राजमार्गको सञ्चालन पश्चात यस गाँउपालिकाका जनाताको जीवनस्तरमा क्रमिक सुधार आउने देखिन्छ । जुनार उत्पादनलाई अझै बढावा दिनपर्ने देखिन्छ । यस गाँउपालिकाको मुख्य बजारहरुमा खुर्कोट, ग्वालटार र खनियाखर्क हुन् । खुर्कोट वडा नं. १ मा, ग्वालटार वडा नं. ३ मा र खनियाँखर्क वडा नं. ६ मा रहेका छन् भने गाँउपालिकाको केन्द« वडा नं. ३, ग्वालटारमा रहेको छ ।
जुनारका लागि उर्वर भूमि गोलन्जोर गाँउपालिका

सिन्धुली जुनार खेतीका सिन्धुली जिल्लाकै सबैभन्दा उर्वर भूमीका रुपमा यो गोलन्जोर गाँउपालिका लाई मानिन्छ। यहाँका किसानलाई सिजनमा जुनार टिप्न भ्याइनभ्याई हुने गर्छ । यस गाँउपालिकाको रतनचुरा, तिनकन्या, डुडभञ्ज्याङ, वितिजोर, वासेश्वर क्षेत्रलाई जुनार उत्पादनका हिसाबले सुपरजोन अन्तर्गत पकेट क्षेत्रका रूपमा अघि बढाइएको छ। सिन्धुली जिल्लाको महाभारत क्षेत्रको ठूलो भूभागमा जुनारका अतिरिक्त सुन्तला, कागती, निबुवा र ज्यामिर उत्पादनका लागि उर्वर भूमि मानिन्छ। जिल्लामा वार्षिक एक लाख बढी जुनार सुन्तला विक्री गर्ने किसानको संख्या दुई हजार बढी छ  । एउटा वयस्क बोटमा एक हजारदेखि एक हजार ५०० दानासम्म जुनार उत्पादन हुने गर्दछ। जिल्लामा एउटै बोटमा छ हजार दानासम्म फलेको रेर्कड छ । कलमी लगाएर तयार पारिएको बोटको तुलनामा बिज्जु बोटबाट जुनार उत्पादन बढी हुने भए पनि गुणस्तरको हिसाबले भने बिज्जु भन्दा कलमी बोटबाट उत्पादन भएको फललाई राम्रो मानिन्छ। सात सयदेखि एक हजार २०० मिटर उचाइसम्मको हावापानीमा जुनार खेती फस्टाउने विज्ञ बताउँछन्।् । उत्पादित मध्ये धेरै ताजा फल र ताजा जुसको रूपमा प्रयोग हुँदै आएको छ भने कम गुणस्तरका केही प्रतिशत मात्रै प्रशोधन हुने गरेको बताइन्छ। सिन्धुलीका ९ वटै स्थानीय तहमा आंशिक रूपमा जुनार खेती हुँदै आएको छ।

पर्यटनको प्रचुर सम्भावन बोकेको गोलन्जोर गाँउपालिका
यस गाँउपालिकाको वडाहरु ६ र ७ सुनकोशी नदि संग जोडिएको हुनाले यो गाँउपालिका ¥याफ्टिङको लागि अतिनै सम्भावना बोकेको गाँउपालिका हो । ¥याफ्टिङ व्यवसाय सञ्चालन गरी मनग्गे आम्दानी गर्न तथा पर्यटन भित्र्याउन सकिन्छ भने रमणीय स्थलहरुको अवलोकन गदै वडा नं. ५ भित्र साईकल जोनको अवधारणा गघि सारिएको छ भने विभिन्न वडामा स्विमिङपुल निर्माणको कार्य अगाडि बढाइएको छ । यतिमात्र नभएर गोलन्जोर भ्यू टावरले पनि पर्यटक तान्ने कुरामा कसैको दुईमत हुन सक्दैन । कृषि र व्यवहारिक शिक्षालाई जोड दिँदै नयाँ खर्कमा भएको  कृषि विद्यालयलाइ सिन्धुलीकै उत्कृष्ठ नमुना कृषि विद्यालय बनाउने योजना समेत अगाडि सारिएको छ ।
१.२    नामाकरणः
यस गाउँपालिकाको नाम यसै क्षेत्रको प्रसिद्ध पर्यटकीय भूगोललाई आधारलिई गोलन्जोर नामाकरण गरिएको हो । साविकका गाविसहरु बाशेश्वर, रतनचुरा र तीनकन्याकोबीच भागमा गोलन्जोर डाँडो अवस्थित रहेको र यस डाँडाको टुप्पोवाट तीनवटा साविक गाविस बाशेश्वर, रतनचुरा र तीनकन्य सबै देखिने हुनाले यस गाउँपालिकाको नाम यसै गोलन्जोर डाँडाको नामवाट नामाकरण गरिएको हो । यस गोलन्जोर डाँडो आफैंमा प्राकृतिक रुपमा नै भ्यु टावरको रुपमा अवस्थित छ जुन पर्यटकहरुको आकर्षणको केन्द्र रहेको छ । यस गोलन्जोर डाँडोमा भ्यु टावर निर्माण गरी यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी जनताको आय आर्जनमा बृद्धि गर्न सकिने प्रचुर सम्भावना रहेको ले यस स्थानलाई पर्यटकीयस्थलको रूपमा विकास गरी जनताको आय आर्जन र जीविकोपार्जनमा मद्दत पुर्याउने पवित्र उद्देश्यले भ्यु टावर निर्माण गर्ने कार्यक्रम राखिएको छ्र ।
१.३    अवस्थितिः(सीमाना)
यस गाउँपालिकाको सीमानामा पूर्वमा फिक्कल गाउँपालिका र रामेछाप जिल्ला, पश्चिममा कमलामाईगाउँपालिका र सुनकोशी गाउँपालिका, उत्तरमा रामेछाप जिल्ला र दक्षिणमा कमलामाई गाउँपालिका र तीनपाटन गाउँपालिका रहेका छन् ।
१.४    क्षेत्र
गोलन्जोर गाउँपालिकाको सम्पूर्ण क्षेत्रफल १८४.१३ वर्ग कि. मि.छ । सिन्धुली जिल्लाको सदरमुकाम भन्दा उत्तर तर्फ रहेका साविकका भिमेश्वर, बाशेश्वर, भुवनेश्वरी, वितिजोर, तिनकन्या, रतनचुरा, डुडभन्ज्याँङगाउँ विकास समितिहरुलाई मिलाएर गोलन्जोर गाउँपालिका निर्माण गरिएको छ । पश्चिमबाट पूर्व तर्फ बगिरहेको सुनकोशी नदिको दक्षिण तर्फ यो गाउँपालिका रहेको छ । नेपालको पहाडी क्षेत्र जोड्ने मध्य पहाडि पुष्पलाल लोकमार्गको सिन्धुली खण्डको अधिकांश भाग यसै गाउँपालिका भित्र पर्दछ ।
१.५  प्रमुख साँस्कृतिक चाडपर्व एवं मेलाहरु
    जातिगत र साँस्कृतिक विविधता रहेको यस गोलन्जोरका बासिन्दाहरुले मनाउने प्रमुख चाडपर्व र मेलाहरुमा पनि पर्याप्त विविधता पाउँन सकिन्छ ।  विजयादशमी, दिपावली, रामनवमी, माघेसक्रान्ती, साउनेसक्रान्ती, तिज, जनैपूर्णिमा, वुद्धपूर्णिमा आदि यहाँका प्रमुख चाडपर्वहरु हुन् । 
१.६  रहनसहन र भेषभुषा
    पहाडी गाउँपालिका भएकोले तथा धेरै जातिहरुको बसोबास भएकोले  रहनसहनमा पनि विविधता छ । अधिकांश घरहरु ढुङ्गा माटो र काठवाट निर्मित तथा काठ, खर, टायल प्रयोग गरी छाना छाइएको अवस्थामा पाइन्छन् भने केही घर हरु सिमेन्टका पक्की घरहरु पनि रहेका छन । भेषभुषाको हकमा कमिज, सुरुवाल, टोपी, पाइन्ट,  फरिया, पटुका, चोलो आदि प्रमुख वस्त्रहरु हुन ।
१.७   जातजाती, भाषा भाषी
    जातजातीको आधारमा बर्गिकरण गर्दा  गोलन्जोर गाउँपालिकामा सबैभन्दा बढि ५० . ७९ प्रतिशत जनजाति रहेको पाईएको छ । यसैगरी दलित २१. ४१ प्रतिशत क्षत्री  १७.२२ प्रतिशत ब्राहमण ९. ८२ प्रतिशत तथा  मुसलिम  ०.१६ प्रतिशत  र अन्यमा  ०.६० प्रतिशत रहेको छ  भने मातृभाषाको  आधारमा  बर्गिकरण गर्दा  सबैभन्दा बढि ८५.६८ प्रतिशत नेपाली भाषी  रहेको छ । यसैगरी ९.२३ प्रतिशत मगरभाषी अर्थात दोश्रो स्थामा रहेको छ । यसैगरी  २.१९ प्रतिशत अर्थात तेस्रो स्थानमा  तमाङभाषा बोल्ने रहेको छ । चौथो स्थामा १.१९ प्रतिशत नेवारीभाषाबोल्ने रहेको छ । यसंगरी क्रमश ०.६८ प्रतिशत मैथली, ०.३७ प्रतिशत  गुरुङ, ०.३६ प्रतिशत राई  तथा सबैभन्दा कम क्रमश  ०.०२ प्रतिशत भोजपुरी र थारु रहेको छ । 
१.८  आर्थिक आधार
यस गोलन्जोर गाँउपालिकाको आर्थिक पक्षको मुल आधार कृषि क्षेत्र नै हो भने सहायकरुपमा उद्योग र पर्यटन व्यवसाय  रहेको छ । नगदेबालीहरुमा जुनार, सुन्तला कागती, आँप, केरा, भुइँकटहर आदि प्रमुख रहेका छन। गोलन्जोर गाउँपालिकामा  ३३.३६ प्रतिशत कृषि पेशामा रहेका छन भने  ४.७० प्रतिशत   नोकरी जागिर मा संलग्न रहेका छन  । यसैगरी  ३.४९ प्रतिशत अन्य र  ३.३९ प्रतिशत ज्याला मजदुरीमा छन् भने  सबैभन्दा कम १.४३ प्रतिशत जनसंख्यामात्र व्यापार व्यावसायमा लागेको छ ।   यसरी हर्दा गोलन्जोर गाउँपालिकामा ब्यापारको त्यतिधेरै प्रचलन रहेको पाईदैन ।

खण्ड २
जनसंख्यासम्बन्धी विवरण
२.१ जनसंख्याको वितरण अवस्था
विवरण
    गणना वर्ष
    २०६८     २०७५ 
जनसंख्या     १९३२९    २१३१९
परिवार संख्या    ३६८१    ३८११
(श्रोतःगोलन्जोर गाउँपालिका घरधुरी सर्वेक्षण २०७५)
गोलन्जोर गाउँपालिकाको  जनसंख्याको वर्गिकरण गर्दा  राष्ट्रिय जनगणना, २०६८ अनुसार यस गाउँपालिकाको जम्मा परिवार संख्या ३६८१ तथा कुल जनसंख्या १९३२९ रहेको थियो भने घरधुरी सर्वेक्षण २०७५ अनुसार परिवार संख्या ३८११ र जनसंख्या २१३१९ रहेको छ । यसरी हेर्ने हो भने २०६८ सालको तुलनामा  २०७५ सालमा  १३० घर र १९९० जनसंख्या वृद्धि भएको देखिएको छ ।